आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ।
हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधिसहित मध्यम वर्षा हुन सक्नेछ।
राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने र बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने सम्भावना छ।
राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ।
२४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । १० देखि ५० मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ ।
यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ ।
गत २४ घण्टामा पनि कास्कीमा भारी वर्षा भएको थियो भने देशका धेरै ठाउँमा भारी वर्षा भएको थियो ।







