एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि फाइनल प्रवेशको पहिलो अवसर हो।
लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनीले पाँच जित, एक हार र एक वर्षाका कारण रद्द भएको खेलबाट क्वालिफायर यात्रा तय गरेको हो। १० अंक जोडेको सुदूरपश्चिम पाँच जित र दुई हारसहित दोस्रो स्थानमा रह्यो।
लुम्बिनी डार्सी सर्टको ब्याटिङ र शेर मल्लको बलिङमा निर्भर छ। सर्टले ६ खेलमा १४८ रन बनाउँदा शेरले नौ विकेट लिएका छन्। यता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सात खेलमा १५० रन बनाएका छन् भने अनिल खरेलले १० विकेट लिएका छन्।
हेड टु हेडमा दुवै टोलीले चार खेलमध्ये दुई–दुई जित निकालेका छन्। यद्यपि पछिल्ला दुई भेटमा लुम्बिनी विजयी भएको छ। पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत अर्को अवसर पाउनेछ।
लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा रहेको लुम्बिनी र पहिलोपटक उपाधि उचाल्ने ध्याउन्नमा रहेको सुदूरपश्चिमबीचको भिडन्तले एनपीएलको प्लेअफलाई थप रोमाञ्चक बनाउनेछ।







