बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य
दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै गरेको एकै परिवारका चार सदस्यको अटो दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा शिक्षक दीपक महराले श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका छन्।
सोमबार बिहान बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा टुमेडाबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटो करिब ९०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा २६ वर्षीया राजमति महरा, सात वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको हो। अटो चालक २५ वर्षीय टेकबहादुर पातली प्रहरी नियन्त्रणमा छन् भने १३ वर्षीय विक्रम महरा सकुशल रहेका छन्।
दीपक यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक थिए। गत साउनमा उनको सरुवा बुङ्गल नगरपालिका–८ को सत्य माध्यमिक विद्यालयमा भएको थियो।
यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र अर्को वर्षदेखि आफूसँगै राख्ने उनको योजना थियो। दशैँ–तिहार मनाएर फर्किने क्रममा भएको दुर्घटनाले उनको परिवारसँगै बस्ने सपना अधुरै बनाएको छ। घटनाले गाउँ नै शोकमा डुबेको छ।







