एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ।
तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार साँझ ५ बजे लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुनेछन्।
जारी प्रतियोगितामा यी दुई टोली तेस्रो पटक भिड्न लागेका हुन्।
लिग चरणपछि पहिलो क्वालिफायरमा यी दुई टोलीबीच भेट भएको थियो।
दुवै भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको छ।
यति मात्रै होइन अघिल्लो सिजनको फाइनलमा पनि सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो।
सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल खेल्ने टिम बनेको छ।
यद्यपि उपाधि जित्न भने सफल भएको छैन। पहिलो सिजनमा ऊ जकपुरसँग पराजित भएको थियो।
यसपालि इतिहास बदल्ने मौका उसलाई छ।
दुवै टोलीका कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन्।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनीका कप्तान रोहित पौडेलले शनिबार साँझ पाँच बजे हुने फाइनल जित्न आफ्नो टोलीले सक्दो राम्रो प्रदर्शन गर्नुपर्ने बताएका छन्।
सुदूरपश्चिमका कप्तान ऐरीले टोलीले अघिल्ला खेलबाट सिक्दै फाइनलका लागि राम्रो तयारी गरेको बताए।
लुम्बिनीको बलियो बलिङ आक्रमणलाई सामना गर्ने रणनीति टिम मिटिङमै बनाइसकेको उनको भनाइ छ। यद्यपि त्यसको वास्तविक परीक्षण मैदानमा हुने उनले बताए।
विदेशी खेलाडीको आवतजावतले टोलीको सन्तुलनमा केही प्रभाव परेको ऐरीले स्वीकार गरे। त्यसैले ब्याटिङ अर्डरमा पनि आवश्यकताअनुसार फेरबदल भइरहेको उनले जानकारी दिए। टोलीमा अहिले कुनै पनि खेलाडी घाइते नरहेको र सबै खेलाडी फिट रहेको पनि उनले बताए।
यता लुम्बिनीका कप्तान रोहित पौडेलले तीन दिनको विश्रामपछि टोलीले प्रभावकारी अभ्यास गरेको र फाइनलका लागि उत्साहित रहेको बताए।
प्रतियोगितामा मोमेन्टमको ठूलो महत्त्व हुने उल्लेख गर्दै उनले त्यसले कठिन परिस्थितिमा पनि जित निकाल्न सकिन्छ भन्ने आत्मविश्वास बढाउने बताए।
यद्यपि विगतका खेलमा प्राप्त जितले फाइनलको नतिजा सुनिश्चित नगर्ने रोहितको भनाइ छ।
सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले उपाधि जित्न आफ्नो टोलीले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने उनले बताए।
रोहितले फाइनललाई व्यक्तिगत र टोली दुवैका लागि इतिहास बनाउने अवसरका रूपमा लिएका छन्। उपाधि जित्ने लक्ष्यसहित सबै खेलाडीले मिहिनेत गरिरहेको बताउँदै उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।







