आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने भारत भ्रमणमा जाँदै छन्। नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री शाह ३ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार, विकास आयोजना र द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुनेछ।
नेपालले महेन्द्रनगर र भैरहवाबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई विशेष प्राथमिकता दिएको छ। यसका साथै अयोध्या–जनकपुर रेलमार्ग, दार्चुलाको पुल, पनौतीस्थित नेपाल प्रहरी एकेडेमी र भैरहवा एकीकृत जाँच चौकी उद्घाटन गर्ने तयारी छ।
भ्रमणका क्रममा अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास तथा सूचना प्रविधि र बन्दरगाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। एक दर्जनभन्दा बढी परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने तयारी गरिएको छ।
आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट र दुवै देशका व्यवसायीबीच अन्तरक्रिया हुनेछ। उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सकेर प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ।







