खुला आकाशमुनि बास
नेपालगञ्ज : मुटु कमाउने चिसो । शरीर कठ्यांग्रिने बतास । दिउँसो जोरजाम गरेका दाउरा खाना पकाउँदा सकिन्छ । जीउ ढाक्ने एकसरो कपडाबाहेक केही छैन । नेपालगन्जस्थित जानकी गाउँपालिका-२ बोकोटियाका दुईवटा रैदास परिवारको अवस्था हो यो । केही सातादेखि सुरु भएको शीतलहरबाट बच्न दाउराको जोहो हुनु त कहाँ हो कहाँ भएको छानोसमेत भत्किएपछि माया रैदासका परिवार अहिले खुला आकाशमुनि चिसो रात बिताउन बाध्य छन् ।
तीन दशकदेखि गाउँको किनारमा रहेको ठूलो खाडल छेउको ऐलानी जग्गामा छाप्रो बनाएर बस्दै आएका सीमान्तकृत तथा दलित समुदायकी माया रैदास (चमार) को पक्की घरमा बस्ने सपना अधुरै छ । घरको छानाबाट हिउँद वर्षात् काट्न मुस्किल भएपछि पक्की घर बनाउन सुरु गरेका रैदास परिवारलाई अदालतबाट घर नबनाउनू भन्ने पत्र आएपछि उनीहरू बिचल्लीमा परेका हुन् । जनता आवास योजनामार्फत पक्की घर बनाउँदै गरेकी मायालाई घरको जग हालेपछि जिल्ला अदालत बाँकेबाट उक्त जग्गामा घर निर्माण नगर्नू भन्ने आदेशपत्र आएको हो ।
मायाले यो वर्ष जनता आवासमार्फत घर बनाउँदा अर्को वर्ष प्रह्लाद चमारले घर बनाउने योजना बुनेका चमार परिवारको पहिलो घरै बनाउन रोक्का भएपछि अर्को घरको सपना समाप्त भएको हो । ‘सधैं छाप्रोमा बस्दा ज्यानको असुरक्षा त छँदै छ’, मायाले भनिन्, ‘रकम आएर घर बनाउन सुरु गर्दा जमिनदारले बिनाकारण अदालतमा मुद्दा दिए । अहिले अदालतबाट तत्काललाई घर निर्माण रोक्नु भनेको छ । अहिले हामी खुला आकाशमुनि चिसो रात काटिरेहका छौं ।’
भएको घर भत्काएर नयाँ निर्माण गर्ने क्रममा रोक्का भएपछि घरविहीन भएका मायाका छोरा राजेश रैदास (चमार) ले बताए । जमिनदार काशीराम कुर्मीले जग्गा किचलोको मुद्दा हालेपछि अदालतले घर निर्माण रोक्ने आदेश आएको थियो । ‘आमा ५५ वर्ष पुग्नुभयो । दैनिक चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको छ’, छोरा राजेशले भने, ‘वि श्राम गरी बस्ने उमेरमा एकसरो लगाएर कहिलेसम्म जमिनदारसँग लड्नुपर्ने हो । म नजन्मिँदैदेखि बस्न थालेको जमिनमा बस्न नदिने कुरा आएपछि हामी कहाँ ओत लाग्ने? ’
तीस वर्षदेखि बस्दै आएको ऐलानी जमिनमा जमिनदारले घर बनाउन नदिएपछि अहिले रैदास परिवार अधिकारकर्मीसमक्ष गुहार मागिरहेका छन् । अन्यत्र जग्गा नभएका रैदास परिवारलाई सधियार काशीरामले बाटोको विषयमा विवाद निकालेर अदालतमा मुद्दा दायर गरेका हुन् । उनीहरूले भनेको समयमा घर निर्माण गर्न नसके सरकारी अनुदान फिर्ता जाने भएकाले ओत लाग्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । उनीहरूले वडा कार्यालयमा घरधुरी कर तिरेको रसिद, विद्युत्को रसिद हुँदा पनि आफूलाई अनाहकमा सताउने गरेको गुनासो गरेका छन् ।
जमिनदार कुर्मीले जग्गा वडा नं २ मा पर्ने भए पनि वडा ३ का वडाध्यक्षबाट घर निर्माण रोक्न आदेशपत्र पठाएका छन् । जमिनदारले खरको छाप्रो भएकाले हालसम्म बस्न दिएको तर पक्की घर निर्माण गर्न नदिने अडान राखेका छन् । तीन दशकसम्म केही नबोलेका कुर्मीले पक्की घर बनाउन थालेपछि मुद्दा दायर गरेको प्रह्लाद रैदास परिवारको गुनासो छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका चमार परिवारलाई अदालतको पुर्जी आएदेखि झनै समस्या परेको छ । ‘न पैसा छ न बोलिदिने कोही छ । उनीहरू ठूला जातका ठूला मान्छे पैसा पनि छ । हामीले कसरी न्याय पाउने हो’, उनीहरूको गुनासो छ ।
नेपालगन्ज-गौघाट सडक अगाडिको मोहडामा रहेको ऐलानी जमिनबाट रैदास परिवारलाई विस्थापित गर्न सके जमिनको मूल्य बढ्ने सोचले उनीहरूलाई पटक-पटक अनावश्यक दुःख दिएको स्थानीय बताउँछन् । तर, यो कुरा अस्वीकार गर्छन्, काशीराम कुर्मी । ‘खरको छाप्रो थियो, केही बोलिनँ तर पक्की घर लगाएर मेरो जमिनलाई अप्ठ्यारो पार्दा कहाँ चुप लागेर बस्छु’, कुर्मीले भने, ‘मेरो जग्गा मिचेर बस्न लागेकाले कुनै पनि हालतमा पक्की घर बनाउन दिन्नँ ।’
source: annapurnapost








