होटल व्यवस्थापक मृत फेला
दमक : झापाको दमक-६ मा रहेको त्रिबेणी गेष्ट हाउसमा सोही गेष्ट हाउसका व्यवस्थापक मृत अवस्थामा फेला परेका छन् । १९ वर्षीय राजेश मल्लिकको शव शनिबार साँझ फेला परेको हो । उनको लास रक्ताम्य अवस्थामा गेष्टहाउसको रुम नम्बर १०४ मा भेटिएको हो । घटना शनिबार दिउँसो भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मल्लिकको छातिमा छुरा प्रहार गरेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साँझ घटनाबारे प्रहरीमा खबर आएपछि गएर कोठामा हेर्दा लास संगै सो कोठाको टिभि समेत चलिरहेको अवस्थामा रहेकोले घटना नियोजित रुपमा गराइएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा एउटा छुरासमेत फेला परेकोले उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटना शंकास्पद देखिएकाले अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । मृतक मल्लिक कक्षा १२ मा पढ्दै गरेका बिद्यार्थी हुन् ।








