तीनचोटि भारतबाट मूल्य घटेर आए पनि आयल निगमले घटाएन
काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले भारतबाट तीन पटकसम्म मूल्य घटेर आए पनि इन्धनको मूल्य नघटाउने भएको छ ।
भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत राख्ने निर्णय गरेको पत्रकार सम्मेलनमार्फत बताएको हो ।
‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘अब निगम आर्थिक रूपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’
नयाँ मूल्यपछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको थानीले दाबी गरे । उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ छ ।
सरकार र वाणिज्य बैंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमको तर्क छ ।
मंगलबार निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यपछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले बताए ।







