आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

काठमाडौं- आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।
स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो । तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई दिनु परेपछि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो । तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन मात्र बनाउन सक्यो ।
नेपालको जितमा नन्दन यादव र सन्दीप लामिछानेले तीन-तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक-एक विकेट हात पारे ।
नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यसैगरी कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।
यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५-३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११-११ तथा नन्दन यादवले १० रन बनाए ।
नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।







