राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै
काठमाडौं–आजदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधिक सकिँदै छ। राष्ट्रपतिबाट निर्वाचित मनोनीत १ जनासहित राष्ट्रिय सभाका २० सांसदको पदावधि आजबाट सकिएको हो। बिदा भएका २० मध्ये १९ स्थानमा सांसद निर्वाचित भइसकेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एक जना मनोनीत गर्नेछन्। पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक÷एक जना छन्। एमालेबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौदी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट बिदाइ हुँदै छन्।
यस्तै, कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको ६ वर्षे कार्यकाल सकिन लागेको हो। माओवादीका बिना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा बिदाइ हुँदै छन्। जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदै छ। यी रिक्त स्थानका लागि माघ ११ मा सातै प्रदेशमा निर्वाचन भएको थियो।
नवनिर्वाचित सांसदका लागि सोमबार साढे ११ बजे पद तथा गोपनीयताको सपथ गराइने राष्ट्रिय सभाका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनीहरूलाई उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराउनेछिन्।







