सोमबारदेखि गोदावरीमा बस्दै कांग्रेस महासमिति बैठक
काठमाडौं– सत्तारुढ कांग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा बस्दै छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।
महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
महासमिति बैठकबारे जानकारी दिन दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलन गरिने उनको भनाइ छ।
महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेस हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि पेस गर्ने कार्यक्रम रहेको मुख्यालय सानेपाले जनाएको छ।
महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउनेछन्। पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधि महासमिति बैठकमा सहभागी हुनेछन्।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखलाई पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन आग्रह गरेको छ।
कांग्रेसले कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न सकेको छैन। २०७८ मंसिरमा १४औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो।







