महानगर शिक्षा शाखा प्रमुखलाई मेयर बालेनको स्पष्टीकरण
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले शक्षा शाखा प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।
मेयर संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेनले शिक्षा शाखा प्रमुखलाई स्पष्टीकरण सोधेका हुन्।
कोइरालालाई सात दिनभित्र सफाइ पेस गर्न भनिएको छ।
मेयर साहका स्वकीय सचिव भूपदेव साहले कोइरालालाई गत शुक्रबारदेखि लागू हुने गरी सफाइ पेस गर्न सातदिने समयावधि दिइएको सुनाए। कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा अवस्थित रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए।
यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालन अनुमति दिएको भन्दै उजुरी परेको थियो।
उजुरीपछि महानगरको अनुगमनका क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो। महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेस गर्न भनिएको स्वकीय सचिव साहले जानकारी दिए।







