गगन थापाको ‘संवाद यात्रा’
पार्टीले समुदायमा कांग्रेस अभियान चलाइरहेका बेला कांग्रेस महामन्त्री गगन थापाले भने झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्।
हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले भद्रपुरको मेची पुलबाट यात्रा थालेका हुन्।
अभियानको पहिलो दिन शनिबार थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन्।
यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्ने बताइएको छ।
संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ। सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछन्।
थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन्। एक जिल्लामा न्यूनतम पाँच कार्यक्रम सञ्चालन गर्ने योजना छ।







