नेपाली टोपी दिवस मनाइयो
काठमाडौं– जागरुक युवा अभियान नेपालले आज ‘नेपाली टोपी ः नेपाली पहिचान’ को नारासहित ११औं नेपाली टोपी दिवस मनाएको छ।
आज वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरे।
सदियौंदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा मान्यता दिन मागसहित अभियानका रूपमा यो दिवस मनाउन थालिएको हो।
भौतिक पूर्वाधारमन्त्री श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन
काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा गत शुक्रबार दुई युवामाथि गोली प्रहार गरी हत्या गरिएको विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ। बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको गोली लागेर मृत्यु भएको थियो।
प्रदर्शनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए।
सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बैठकले मृतकका परिवारलाई थप आर्थिक राहत तथा मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति रामहरि खड्काले जानकारी दिए।
बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ।
समिति बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो।







