बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
काठमाडौं।–सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार इपिएस परीक्षामा सहभागी हुनुपर्ने मागसहित विरोधमा उत्रिएका युवकमाथि गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य विकल्प प्रयोेग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिएका हुन्।
शनिबार संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौं राष्ट्रिय टे«ड युनियन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवार साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए।
प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो। कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै युवाले विरोध प्रदर्शन गरेका थिए।
सोही क्रममा मन्त्री सवार गाडीलाई रोकेर उनका पिएसओ प्रकाश ज्वालालाई बाहिर निकाली गाडीमा आगजनी गरेका थिए। गाडीमा आगजनीपछि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज र गोली चलाउँदा दुई युवक मारिएका थिए।







