१० लाख क्षतिपूर्ति दिएर सामसुम पारिँदै बालकुमारी घटना
काठमाडौं– कोरिया रोजगारीको सपना बुनेर ललितपुरको बालकुमारीमा अवस्थित दक्षिण कोरिया रोजगार (इपिएस) शाखामा विरोध गरिरहेका युवामाथि गोली चलाउँदा दुई जनाको अकाल मृत्यु भएको छ।
युवाको मृत्युपछि विरोध प्रदर्शन जारी छ। सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही १० लाख उपलब्ध गराएर घटना सामसुम पार्ने प्रयास गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्। प्रहरीको गोली लागेर दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।
उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ। घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताइन्।







