पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै लुम्बिनीका पालिकाहरू
काठमाडौं– लुम्बिनी प्रदेशका विभिन्न गाउँपालिकाले आ–आफ्ना पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्रान्डिङ तथा प्रचार–प्रसार गर्ने भएका छन्।
आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण आधार भएकाले पर्यटकीय गन्तव्यको ब्रान्डिङ तथा प्रचार–प्रसारमा ध्यान दिन लागिएको विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले बताएका हुन्।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सह–लगानीमा सचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय– लुम्बिनी प्रदेशको समन्वयमा राजधानी भालुवाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएसँगै पालिका पर्यटन प्रवद्र्धन अभियानमा जुट्ने भएका हुन्।
लुम्बिनी प्रदेशका२१ वटा स्थानीय सरकारअन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा÷योजना शाखासँग सम्बन्धित कर्मचारीको क्षमता वृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले भालुुवाङमा कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा पालिकाहरुको पर्यटन नीति, रणनीति तथा कार्ययोजना निर्माण, पर्यटकीय गन्तव्यको ब्रान्डिङ, बजारीकरण तथा पर्यटन प्रवद्र्धनका लागि आमसञ्चार माध्यमसँगको सहकार्यलगायत विषयमा छलफल गरिएको थियो।
यस्तै, कार्यशालामा पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीप विकास गर्न तथा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम, घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ, बैजनाथ र ठाकुरद्वारा, पुथाउत्तरगंगा, सिस्ने, रुन्टीगढी, बढैयाताल, स्वर्गद्वारी रेसुंगालगायत नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सहभागी थिए।
नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन , ब्रान्डिङका विषयमा प्रस्तुतीकरण गरेका थिए।
बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले पर्यटन प्रवद्र्धनधनमा आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।







