इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा लगिने
काठमाडौं– प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीच जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीको अवस्थाबारे निर्णय लिन सिंहदरबारमा समन्वय संयन्त्रको बैठक बसेको छ।
परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको बैठकले द्वन्द्वका कारण इजरायलमा रहेका नेपाली नागरिको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्था भए तत्कालै उद्धार गर्न प्रक्रिया थालिने मन्त्री साउदको सचिवालयले बताएको छ।
इजरायलमा जारी द्वन्द्व र त्यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ। यस्तै, इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि संयन्त्रको बैठकबाट भएको छ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो। बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल थाल्ने निर्णय गरेको थियो।
घर फर्किन इच्छुकलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिस्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी थालेको छ।मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीलाई आग्रह गरेको छ।
इजरायलमा हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्।







