बागमती प्रदेशसभा सूचना टाँसेर स्थगित
काठमाडौं– एमालेले अवरोध गर्ने भएपछि बागमती प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सरकारसँग गरिएको सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्ष एमालेसहितका प्रतिपक्ष दल राप्रपाले अडान राख्दै बैठक चल्न नदिने चेतावनी दिएपछि संसद् बैठक स्थगित गरिएको हो।
विपक्षी दलहरुका कारण सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक २ पटकसम्म सारिएको थियो। दिउँसो १ः३० बजेसम्मका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगित गरी पुनः ४ बजेका लागि आह्वान गरिएको थियो।
४ बजेका लागि बोलाइएको बैठकसमेत निर्धारित समयभन्दा २ घण्टा पछिसम्म बस्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
एमालेले सरकारसँग बजेट पारित गर्दा आफ्ना योजना समावेश गर्ने सरकारसँग सहमति गरेको र उक्त सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने अडान राख्दा संसद् बैठक स्थगित भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए।
बजेटसम्बन्धी छलफलका लागि गत असार १४ देखि आह्वान गरिएको बैठकमा पनि एमाले र राप्रपाले अवरोध गरेका थिए। विपक्षीको विरोधपछि सत्तापक्षले बजेट पारित गर्न एमाले र राप्रपासँग क्रमशः ४५ करोड रुपैयाँ र २५ करोड रुपैयाँ सम्मको योजना समावेश गर्ने सहमति गरेको थियो।
सरकारको गतिविधिमा निरन्तर विमति राख्दै आएको नेमकिपाले भने सरकारले राजनीतिक चरित्र देखाउन नसकेको आरोप लगाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारले राजनीतिक चरित्र सिक्न जरुरी रहेको बताए।
प्रदेशसभाको अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए। यसअघि गत असार २२ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो।







