सरकारले जग्गा दिए क्रिकेट स्टेडियम बनाइदिने मेयर बालेनको घोषणा
काठमाडौं– एसिया कपअन्तर्गत नेपाल–भारतबीचको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरका मेयर बालेन साहले महानगर क्रिकेट स्टेडियम बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
आज मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम निर्माणका लागि पहल थाल्ने जानकारी दिएका हुन्।‘सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
श्रीलंकामा सोमबार राती नेपाल–भारतबीच खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियमजस्तै भए पनि प्याराफिट र केही सुविधा भएको उनले बताएका छन्। इन्जिनियरसमेत रहेका मेयर बालेनले यस्तै सुविधाको रंगशाला जग्गाबाहेक ८०–९० करोडमा बनाउन सकिने अनुमान गरेका छन्।
‘यस्तो मात्रै रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुन सक्छ। एकै खेलबाट करोडौं रकम आर्जन हुन सक्छ,’ उनले लेखेका छन्।
बालेन खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले गरिसकेको स्मरण गराएका छन्।
नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी आश्चर्यमा परेको उनले बताएका छन्।‘यति धेरै नेपाली एक्कासि श्रीलंका किन आइरहेका छन्?’ श्रीलंकाको अध्यागमनका कर्मचारीले प्रश्न गरेको भन्दै उनले लेखेका छन्, ‘श्रीलंकाको अध्यागमन नै चकित पार्ने गरी ठूलो संख्यामा नेपाली त्यहाँ पुग्दै थिए।’
स्टेडियममा नेपाली समर्थकको संख्या १५०० देखि २००० को बीचमा र भारतीय समर्थकको संख्या ४०–५० जना जति पाएको उनले बताए।
नेपालसँगको खेल भारतले सजिलै जित्ने सोचेको र खेल अघि बढेसँगै भारतीय खेलाडी पूरै रक्षात्मक बनेको अनुभव गरेको बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्:
फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?” श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुग्यो होला । टिभीमा देखिने बिराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरुको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरुको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडिहरुमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यहि बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद । यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।







