मतदानबाट छानिँदै एमाले लुम्बिनी प्रदेश नेतृत्व, मधेस अधिवेशन मिति सारियो
काठमाडौं– एमाले लुम्बिनी प्रदेश नेतृत्व चयन सर्वसम्मतिमा नभएपछि मतदान सुरु भएको छ। लुम्बिनीमा नेतृत्व चयनका लागि मतदान भइरहेका बेला मधेस प्रदेशमा भने एमाले अधिवेशन मिति सरेको छ।
शनिबारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान आज बिहानबाट सुरु भएको हो। एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए।
मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन्।उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु चौधरी, पूर्ण बुढामगर र हिरा एसीबीच प्रतिस्पर्धा छ । यस्तै महिला उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरको उम्मेदवारी परेको छ।

यता, एमाले मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटी बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।एमाले २४औं सचिवालय बैठकले ५–६ असोजमा अधिवेशन मिति तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन अब २४–२५ असोजमा जनकपुरमा गर्ने गरी मिति सारिएको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले बताए।







