त्रिशूली बस दुर्घटनामा मृतक आठै जनाको पहिचान
काठमाडौं– बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खसेपछि मृत्यु भएका आठ जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय सुशील रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फूलबारी–११ का २४ वर्षीय सुमन थापा रहेका छन्।
यस्तै, पर्वतको जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरि गाउँपालिका–५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन्। दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका–२ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिशूलीले बगाएको आशंका गरिएको छ।
बस चालक बेनी–६ का ३० वर्षीय दीपक थापालाई उपचारपछि डिस्चार्ज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घाइते १२ जनाको हाल वीर अस्पतालको ट्रमा सेन्टर, बयोधा, बीएन्डबी, किस्टलगायत अस्पतालमा उपचार भइरहेको छ।







