सातै प्रदेशमा सन्देश–सभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौं– सत्तारुढ चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय गरेको छ ।आज बिहान नेकपा एसको तीनकुनेस्थित आलोकनगर मुख्यालयमा बसेको बैठकले मोर्चा गठन गर्नुको उद्देश्य जनतालाई जानकारी दिन सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा तीनवटा एजेन्डा समसामयिक राजनीति, सातै प्रदेशमा घोषणसभा र मोर्चाको सचिवालयले गरेका निर्णय अनुमोदनबारे छलफल भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
८ भदौमा मधेस प्रदेशको वीरगञ्ज, १२ मा लुम्बिनीको बुटवल, १३ मा सुदूरपश्चिमको धनगढी, १४ मा कर्णालीको सुर्खेत, १५ मा गण्डकीको पोखरा, २३ मा बागमतीको हेटौंडा र २५ भदौमा कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय बैठकबाट सर्वसम्मत पारित भएको खतिवडाले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो। बैठक आइतबार बस्ने भनिए पनि तयारी नपुगेपछि आज बिहानका लागि सारिएको हो ।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत ४ असारमा समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिइएको छ।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।







