वर्ष दिनमा १२१ उद्योगविरुद्ध मुद्दा
काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षे अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायत पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा पिउनेपानीका २१, दुध तथा दुग्ध पदार्थका १७, खाद्यान्न तथा दलहन र त्यसबाट बनेका परिकार १६, दाना पदार्थका १५, मसलाका ७, चिया÷कफीका ७ र फलफूल तथा सागपातजन्य ७ वटा उत्पादनका उद्योग रहेको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।
महका ५ र अन्य खाद्य पदार्थका २१ गरी कुल १२१ उद्योगविरुद्ध मुद्दा दायर गरिएको उनको भनाइ छ ।
मर्हजनका अनुसार गत वर्ष विभागले देशभरबाट ३ हजार ११३ वटा खाद्यवस्तुको नमुना परीक्षणका लागि संकलन गरेको थियो । खाद्यान्न र दलहनका ९१०, फलफूल र सागपातजन्य ३५१, तेल, घ्युका ३४९ र मसलाका २८३, पिउनेपानीका १५५ नमुना विश्लेषण गरेको थियो ।
यीमध्ये खाद्यान्नका ४७, पिउनेपानीका ४१, फल तथा सागपातजन्य पदार्थका १३, मसलाका ७ र अन्य विभिन्न उत्पादनका १९८ नमुनाको मापदण्ड नपुगेको विभागले जनाएको छ ।







