शीतलनिवास पुगेर सभामुख र राष्ट्रिय सभाध्यक्षले भेटे राष्ट्रपति
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

लगातार संसद् अवरोध भइरहेका बेला आज बिहान सभामुख र राष्ट्रिय सभाध्यक्षले शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणलाई उठान गरेर १० साउनदेखि उच्चस्तरीय छानबिन समिति गठनको मागलाई अगाडि सारेर लगातार सदन अवरोध गर्दै आएको छ ।
एमालेका लगातारको संसद् अवरोध र समयसामयिक विषयमा छलफल गर्न सभामुखद्वय शीतलनिवास पुगेका हुन् ।राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभाध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारी लिएका छन् ।
बिहान १० बजेदेखि आधा घन्टासम्म राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभाध्यक्षले संसद्मा जारी अवरोधबारे सामूहिक छलफल गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।







