नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ७ पुग्यो
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आशंकामा ७ जना चिकित्सकलाई पक्राउ गरेको छ ।
सीआईबीले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा कांग्रेस सांसद सुनील शर्मासहित ७ चिकित्सक पक्राउ परेका हुन् ।बिहीबार बेलुकी पाँच जना पक्राउ परेकामा आज बिहान थप दुई जना पक्राउ परेको सीआईबीले बताएको छ । आज पक्राउ पर्नेमा मोरङबाट मनीष चौधरी र इशान अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार रहेका छन्।
प्रहरी टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो।
बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना साह रहेका छन् ।सीआईबी टोलीले साहलाई काठमाडौंबाट र यादवलाई रौतहटबाट पक्राउ गरेको हो।
सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकैसाथ अपरेसन चलाएको थियो । सीआईबीले कांग्रेस सांसद शर्मालाई गोल्फुटारस्थित उनको घरबाटै पक्राउ गरेको थियो ।शर्माले आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र लिएर थप अध्ययन गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सांसद शर्मा पक्राउबारे सीआईबीले आजै संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सञ्चालन गरिएको अपरेसनको नाम ‘फोक्सट्रोट चार्ली’ राखिएको छ ।







