बालुवाटार बैठकमा पनि जुटेन सहमति
संसद् खुलाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मुख्य तीन दलका नेताबीचको छलफल निष्कर्षविहीन भएको हो ।
काठमाडौं– अवैध सुन प्रकरणलाई लिएर करिब दुई सातादेखि अवरुद्ध संसद् बैठक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बालुवाटारमा भएको वार्ता सहमतिबिनै टुंगिएको छ।
सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएको हो।
सोमबार मात्रै सभामुख घिमिरेले शीर्ष नेतालाई सिंहदरबार बोलाएर संसद् खुलाउन छलफल गरे पनि एमाले अडानका कारण संसद् गतिरोध कायमै रहेको छ ।
एमाले अवैध एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति बनाउनुपर्ने माग गरेकामा विशेषगरी सत्तारुढ नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि संसद् बैठक अवरुद्ध हुँदै आएको छ।
प्रधानमन्त्री प्रचण्डले संसद् गतिरोध हटाउन सभामुख घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमाले नेता केपी ओली र तीन वटै दलका प्रमुख सचेतक र सचेतकको उपस्थितिमा बालुवाटारमा सामूहिक छलफल गरे पनि निकास निस्कन नसकेको हो ।







