सदन अवरोध खुलाउन सभामुख घिमिरेले बोलाए शीर्ष नेताको बैठक
काठमाडौं– १२ दिनदेखि अवरुद्ध संसद् खुलाउन सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान भएको उनको सचिवालयले जनाएको हो ।सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भनेका छन् ।
१० साउनको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएका छन् ।सभामुखले १५–१६ साउनमा प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद गरेका थिए। प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन्।
आइतबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताले दिएका थिए।







