गैरहाजिर भएका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाडौं । नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।उनीहरू आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।








