प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक
मुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे विरोध जनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो।
पार्टीका एक उच्च नेताका अनुसार आज बुधबार दिउँसो १.३० बजे यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक राख्दै छ ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति घातक छ। प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौमसत्ता सम्पन्न संसद्को मानमर्दन गरेको छ। नागरिकको मतको हुर्मत लिएको छ,’ एमालेका सचेतक महेश बर्तौलाले भने, ‘यसको हामी संसदबाट विरोध जनाउँछौं। दलको बैठक बसेर पनि विरोध जनाउँछौं।’







