ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी छाडिएको थियो ।
पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।








