नेपाल विश्वभरका योग अध्येताहरूको मूल गन्तव्य बन्न सक्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग सम्बन्धी ज्ञान-विज्ञानको क्षेत्रमा अध्ययन गरिरहेका विश्वभरका अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्राकृति वातावरणको हिसाबले पनि नेपाल संसारभरका मानिसहरूका लागि योगाभ्यासको महत्वपूर्ण बन्न सक्ने बताएका हुन्।
‘मठमन्दिर र मूर्तिकलामा होस या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा–इनार र राजकूलोका निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसैले योग नेपालकै अमूल्य निधि पनि हो।’उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धती समेत रहेको बताए । स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्वन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिनुपर्ने र व्यवस्थित ढङ्गले काम गर्दै यसबाट मुलुकमा योग पर्यटनको विकास गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताए।







