भारतलाई कुटनीतिक नोट पठाउन सांसद रघुजी पन्तको माग
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखिएको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउन माग गरेका छन्।
विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेपनि पहिलेको र अहिलेको भनि नछुट्याएको भन्दै त्यसबारेमा तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन माग गरे।। ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’
नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर ‘संकल्प अखण्ड भारत’ लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए।
‘इपिजी प्रतिवेदनबारे राजदूतले बोकेको बिचारले नेपालको प्रतिनिधिनत्व गर्छ? सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो? बिआरआईबारे राजदूतले भनेकै कुरा हो सरकारको धारणा?’ उनले सोधे।







