अर्थमन्त्री गरे सांसदलाई ५ करोड दिने योजनाको बचाउ
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुलाई पैसा बाँड्ने गरी ल्याइएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बचाउ गरेका छन् ।उनले यो कोष सांसद विकास कोष नभई दुई वर्षपछि ब्युँत्याएको सांसद कोष सबै स्थानमा कार्यक्रम पुगोस् भनेर ल्याइएको तर्क गरेका छन्।
सांसदहरूले नै आयोजना छनोट गर्नेभन्दा पनि उनीहरूको भूमिका आयोजना सिफारिस गर्नमा सीमित हुने बताए। यस्ता आयोजनाको ठेक्कासमेत उपभोक्ता समितिले गर्ने नभई मन्त्रालयगत आधारमा नै हुने स्पष्ट पारेका छन्। ‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो,’ उनले भने, ‘सांसदहरूलाई कुनै आयोजना सिफारिस नै गर्न नपाउने भन्नु भएन । त्यहाँका आवश्यकता त्यहींका जनप्रतिनिधिलाई थाहा हुने हुनाले सिफारिस गर्न पाउने भनिएको हो ।’

सरकारले यसपटक एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको हो।दुई लाख रुपैयाँबाट सुरू गरिएको यो कार्यक्रमको रकम बढाउँदै एक सांसद बराबर ६ करोड रूपैयाँसम्म पुर्याइएको थियो।







