जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार
काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ ।
बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।
उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौँ, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ ।
प्राथमिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलवमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनिहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्धा गराउने गरेको खुलेको छ ।







