संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाको निर्णय
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।
फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो।
बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘ बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।’ ।
जनमोर्चाले गत पुस १० गते बनेको राजनीतिक समीकरणलाई भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक कोर्स सच्चाएकोमा समर्थन गर्दै उनलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।







