राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।उनले आज ट्वीट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’
कांग्रेस पदाधिकारी बैठकको हालैको निर्णय पनि राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने र एकताबद्ध ढंगले तयारी गर्ने थियो। साथै कांग्रेसले निर्वाचन आयोग र सरकारलाई राष्ट्रपति निर्वाचन मिति तोक्न तथा कुनै कानुनी समस्या देखिएका भए समयमै समाधान गर्न ध्यानाकर्षण गराएको थियो।







