माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्जले दिए राजीनामा
नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।
मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही जिल्लाबाट एकजनालाई पनि विजयी गराउन नसकेको साथै समानुपातिक मत पनि २०७४ को तुलनामा धेरै घटेको भन्दै राजीनामा दिएका हुन् ।
´रुपन्देहीमा एक जना पनि प्रत्यक्ष तर्फका उम्मेदवार विजयी गराउन सकिएन, समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको र मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन मिलेन त्यसैले राजीनामा दिएको छु,` खाँले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
गत मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका पूर्व नेता घनश्याम भुसाललाई माओवादी केन्द्रले समर्थन गरेको थियो । तर भुसाल पराजित भएका थिए ।








