राष्ट्रिय खेल प्रतियोगिता समापन गर्न पोखरा जाँदै प्रधानमन्त्री देउवा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जान लागेका हुन्।
काठमाडौं– गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाँदै छन् ।
पोखरा रंगशालामा बिहीबार साँझ हुने राष्ट्रिय खेलकुद समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिता समारोह उपसमिति संयोजक एकेन्द्रबहादुर कुँवरले बताएका हुन् ।प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ सिल्ड प्रदान गर्नेछन् ।
संयोजक कुँवरका अनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीन वटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।यसअघि गत २८ असोजदेखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ ।मार्चपास, मस्कट प्रदर्शन, तीन वटै सुरक्षा निकायबाट संयुक्त ब्यान्ड प्रदर्शन, झाँकीसहित दुई घन्टाको भव्य समापन समारोह हुने समारोह उपसमिति संयोजक कुँवरले बताए ।
समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ ।
समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा आतिशबाजीसहित समारोह समापन हुनेछ ।







