सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्दै कांग्रेस
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले सात वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समिति बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्यसमेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले बताएका हुन् ।
बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाएका थिए ।‘कांग्रेस अहिले गठबन्धनमा छ । गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिक भोट घट्न सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने ? यी सब कुरामा छलफल गरियो । जति पनि सुझाव आएका छन्, तिनलाई समेटेर समितिको कामलाई व्यवस्थापन गर्छौं’, उनले भने ।
बैठकमा पार्टीको चुनावी घोषणा पत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन लागिगर्ने समितिका सदस्यले बताएका थिए ।
पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउन गोपालमान श्रेष्ठको नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।







