देउवालाई ‘लाइभ डिबेट’मा आउन ओलीको चुनौती
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्
काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आएर एजेन्डामा आधारित बहस गर्न चुनौती दिएका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पोस्ट गर्दै देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन् । ओलीले देउवा र आफूबीच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको बताएका छन् ।
ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाजीबीच एजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समय पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।’
ओलीले आफू बहसका लागि तयार रहेको बताएका छन्। यसका लागि देउवालाई पनि आग्रह गरेको उनको भनाइ छ । ‘म यस (बहस) का लागि तयार छु, देउवाजी नि!’ ओलीले देउवालाई चुनौती दिएका छन् ।







