लौरो चिन्ह स्वतन्त्रको नभएको आयोगको प्रस्टीकरण
आफ्नो दलीय आबद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो।
काठमाडौं– निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको भन्दै प्रचार गर्ने उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
आफ्नो दलीय आबद्धता नखोली लौरो चुनाव चिन्ह स्वतन्त्रको भन्दै प्रचार गर्ने प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले आइतबार काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मधुसूदन पाठक (सिते बा), सिराहा–२ का प्रतिनिधिसभा उम्मेदवार शिवशंकर यादव, सिरहा–२ प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार राजलाल यादव र (ख) का उम्मेदवार योगेशकुमार सिंहलाई स्पष्टीकरण सोधेको हो ।
यस्तै, काठमाडौं–२ प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही–२ का उम्मेदवार वीरवंश बैठा, सुनसरी १ प्रदेशसभा क्षेत्र (क) का उम्मेदवार विजय कालिकोटे, रूपन्देही ३ का प्रख्यात बञ्जाडे र नुवाकोट १ प्रदेशसभा क्षेत्र (ख) का दीपेश ढुंगानालाई आयोगले स्पष्टीकरण सोध्दै १ लाख जरिमाना किन नलिने भन्दै स्पष्टीकरण सोधिएको छ ।
विभिन्न अभियानका नाममा उम्मेदवारी दिएकाले हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह भन्दै प्रचार गरिरहेको पाइएकोले स्पष्टीकरण सोध्नुपरेको आयोगले जनाएको छ ।







