३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १५८ स्थानमा महिला उम्मेदवारी शून्य
कुल संख्याको ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक रहेको बताएको छ । आयोगका अनुसार सात प्रदेशमा ३३० सिटका लागि निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।
परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत छ । आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशसभाका ३३० सिटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात् करिब आधा सिटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुल संख्याको ४७.८७ प्रतिशत सिटमा महिला उम्मेदवारी शून्य रहेको छ ।
प्रदेशसभाका कुल सिटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सिटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना छ । यस्तै, प्रदेशसभाको १३ सिटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सिटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सिटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।
प्रदेशसभातर्फ प्रदेश १ मा ५२, मधेस प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।







