मधेस प्रदेशमा कांग्रेसका मन्त्रीहरू बर्खास्त
प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू हटाएको बदलामा राउतले प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन्।
काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरू हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जामन्त्री थिए ।मुख्यमन्त्री राउतले बिहीबार बेलुकी तीनै जनालाई फोन गरी राजीनामा दिन आग्रह गरे पनि नमानेपछि बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बताएको छ ।
तीनै जनालाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पठाएका छन् । रिक्त भएका तीनै मन्त्रालय मुख्यमन्त्री आफैंले सम्हाल्नेछन् ।
सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन् ।








