उम्मेदवारसँग फोटो खिचेर समर्थन गर्ने कर्मचारी, शिक्षकमाथि कारबाही
राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमार्फत मत माग्ने शिक्षक तथा कर्मचारीमाथि कारबाही गरिने भएको हो
काठमाडौं– निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाइ दिने सरकारी कर्मचारी र शिक्षकमाथि कारबाही गर्ने भएको छ ।
कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी,प्राध्यापक तथा शिक्षकले उम्मेदवारसँग तस्बिर खिचाएर बधाइ दिने, शुभकामना दिने गरेको पाइएकाले आयोगले कडाइ गरेको हो ।शिक्षक तथा कर्मचारीले राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) लगायतमा सेयर र लाइक गरेका घटना अनुगनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही सुरु गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगले शिक्षक तथा कर्मचारीलाई राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने सुझाएको छ ।
यो व्यवस्था उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधिने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले बताएको छ ।







