सरकारी कार्यालय खुले, खुलेन सिंहदरबार
नेता र मन्त्रीहरू निर्वाचनका लागि जिल्ला गए पनि सरकारी कर्मचारी कार्यालय समयमा नआउँदा सिंहदरबार सुनसान बनेको हो।
काठमाडौं– लगातारको ८ दिने सरकारी बिदा लिएर दसैं मनाउन मन्त्री, नेता र कर्मचारी जिल्ला गएपछि सिंहदरबार सुनसान बनेको छ । दसैं सकिएर उपत्यकाभित्र र बाहिरका सरकारी कार्यालय खुले पनि सिंहदरबार सुनसान बनिरहेको छ ।
नेता र मन्त्रीहरू निर्वाचनका लागि जिल्ला गए पनि सरकारी कर्मचारी कार्यालय समयमा नआउँदा सिंहदरबार सुनसान बनेको हो ।सिंहदरबारका मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा उनीहरुलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकाले पनि सिंहदरबारमा मन्त्री तथा कर्मचारी देखिन छाडेका छन् ।
मंगलबार पनि सिंहदरबारमा मानिसको आउजाउ निकै कम देखिएको छ । आइतबार कोजाग्रत पूर्णिमादेखि दसैं औपचारिक रूपमा सकिए पनि सरकारी कामकाज सुरु भइसक्दासमेत दसैं बिदामा गएका कर्मचारी फर्किएका छैनन् ।
हाल मन्त्रालयमा सीमित कर्मचारी मात्रै देख्न सकिन्छ । वर्षाका कारण सडक भत्किँदा राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरूको संख्या घटाएको छ । दैनिक हजारौंको संख्यामा मानिस सिंहदरबार प्रवेश गर्ने भए पनि अहिले फाट्टफुट्ट मात्रै देख्न सकिन्छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीको संख्या न्यून देखिएको छ ।







