सडक किनारमा हिँड्न पाउनु पैदलयात्रीको अधिकार : मेयर बालेन
सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले प्रतिबद्ध
काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी साहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्ने जनाएका हुन् ।
‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन, पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्न चाहन्छौं’, साहको विज्ञप्तिमा भनिएको छ।
फुटपाथ व्यापारलाई दसैंको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै साहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।
‘यसलाई स्थापित गराउन महानगरले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिबद्धता हो । यो कायम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’
आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकाससम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथ उपयोग सहज र सरल बनाइने विषय उल्लेख रहेको साहको भनाइ छ । सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारेको छ ।







