आगामी चुनावमा उम्मेदवारको खर्च सीमा २५ देखि ३३ लाखसम्म प्रस्ताव
२०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले आउँदो चुनावमा त्यसमा हेरफेर गर्न लागेको हो।
काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा तोक्न मंगलबार विभिन्न राजनीतिक दलरूसँग छलफल थालेको छ ।
आयोगका अनुसार २०७४ को तुलनामा उम्मेदवारले गर्न पाउने खर्च बढाउने तयारी छ । २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रतिउम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकेको आयोगले आउँदो चुनावमा त्यसमा हेरफेर गर्न लागेको हो । त्यसका लागि आयोगले दलहरूलाई खर्च सीमाको प्रस्ताव अध्ययनका लागि पठाइसकेको छ। यस्तो खर्च जिल्लाअनुसार फरक–फरक हुनेछ ।आयोगले १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । आयोग प्रवक्ता शालिग्राम पौडेलले ११ बजे दलहरूसँग छलफल सुरु भएको बताए ।
प्रवक्ता पौडेलले खर्च सीमाबारे विभिन्न प्रस्तावमा छलफल भएको र तिनै प्रस्तावमाथि सुझाव लिएर निर्णय गरिने जानकारी दिए । ‘तथ्यपरक ढंगले उम्मेदवारले गर्न पाउने खर्चबारे निर्णय हुन्छ । त्यसमा जिल्ला र निर्वाचन क्षेत्रको भूगोलदेखि जनसंख्यासमेतलाई हेरिन्छ’, प्रवक्ता पौडेलले भने ।
आयोगले तयार पारेको प्रस्तावमा १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरिएको छ । २५ लाखदेखि ३३ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने प्रस्ताव छ । आयोगले गरेको प्रस्ताव अनुसार ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख, २३ वटाले २७ लाख, ६६ वटाले २९ लाख, ४४ वटाले ३१ र २७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने गरी प्रस्ताव गरिएको छ ।







