कांग्रेसमा शेखर समूहको आन्दोलन घोषणा
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी टिकट वितरण गरेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन्
काठमाडौं– नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलन घोषणा गरेका छन् ।टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन् ।
सोमबार ठमेलस्थित यात्री होटलमा बसेको बैठकले १२ देखि १४ असोजसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ ।

नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरुराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईंलगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन् ।
१२ असोजमा पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, १३ असोजमा बत्तीसपुतलीमा चियापान तथा विरोधसभा गर्ने र १४ असोजमा समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ ।उनीहरूले चियापानमा शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेका छन् ।
समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर–गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ ।







