१२ असोजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरिएकाले निर्वाचन आयोगको दाबी
काठमाडौं– निर्वाचन आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी थालेकोे छ ।आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका अशीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।
निर्वाचनसम्बन्धी आचारसंहिता पालनामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताहरू आइतबार अपराह्न निर्वाचन आयोग पुगेका थिए ।
कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यावहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिए ।
आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आयोग पुगेका थिए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको बताए ।आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनको भनाइ छ । आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिए आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्ने उनले बताए ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।







